यस Sabaibhanda Ramro Swasthya Rasayana लेखमा पूर्ण स्वास्थ्यका लागि बताइएका युक्तिहरूको अभ्यासबाट पूर्ण स्वास्थ्य प्राप्त गर्न सकिन्छ।
Sabaibhanda Ramro Swasthya Rasayana
सबैभन्दा राम्रो स्वास्थ्य रसायन
♦ हरेक बिहानी तुलसीको पाँचसात ओटा पात चपाएर एक गिलास बासी पानी खाऊ । फेरि अलिकति घुम, दौड अथवा कोठैमा पौंजाको बलले उफ्र । नुहाएर स्वस्थ, शान्त भएर एकान्तमा बस । दस पटक गहिरो गहिरो सास लेऊ । अगाडिपछाडिका कर्तव्यबाट निश्चिन्त होऊ । आरोग्यता, आनन्द, सुख, शान्ति प्रदान गर्ने विचारधारालाई चित्तमा बहन देऊ ।
रोगका विचारलाई हटाएर यसप्रकारको भावनामा मनलाई दृढतापूर्वक एकाग्र पार :
मभित्र आरोग्यता र आनन्दको अनन्त स्रोत प्रवाहित भइरहेको छ । मभित्र दिव्यामृतको महासागर उर्लिरहेको छ । म अनुभव गरिरहेको छु, समग्र सुख, आरोग्यता, शक्ति मभित्रै छ । मेरो मनमा अनन्त शक्ति र सामर्थ्य छ । म स्वस्थ छु । पूर्ण प्रसन्न छु । मेरोभित्रबाहिर सर्वत्र परमात्माको प्रकाश फैलिरहेएको छ । म विक्षेपरहित छु । सब द्वन्द्वबाट मुक्त छु । स्वर्गीय सुख मभित्रै छ । मेरो हृदय परमात्माको गुप्त प्रदेश हो । त्यहाँ परमात्माको निवास छ । फेरि रोगशोक त्यहाँ कसरी रहन सक्छ त ? म दैवी ओजको मण्डलमा प्रविष्ट भइसकेको छु । त्यो मेरो स्वास्थ्यको प्रदेश हो, म तेजपुञ्ज हुँ । आरोग्यताको अवतार हुँ ।
याद राख : तिम्रो अन्तस्करणमा स्वास्थ्य, सुख, आनन्द र शान्ति ईश्वरीय वरदानको रूपमा विद्यमान छ । आफ्नो अन्तस्करणको आवाज सुनेर निस्सङ्कोच जीवनयापन गर । मनभित्रबाट कल्पित रोगका विचारहरूलाई निकालिदेऊ । प्रत्येक विचार, भाव, शब्द र कार्यलाई ईश्वरीय शक्तिबाट परिपूर्ण गर । ॐकारको सतत् गुञ्जन गर । बिहानबेलुकी यी विचारहरूलाई चिन्तनमनन गर्दा विशेष लाभ हुन्छ । ॐ आनन्द, ॐ शान्ति, पूर्ण स्वास्थ, पूर्ण प्रसन्नता ।
यो लेख पनि पढ्नुहोस्ः सुखी जीवनका युक्तिहरू
♦ शोक र मोहका कारण हो : प्राणीहरूमा विभिन्न भावको अध्यारोप गर्नु । मानिस जब एउटालाई सुख दिने, प्यारो, सुहृदय सम्झन्छ र अरूलाई दु:ख दिने शत्रु सम्झेर उसँग द्वेष गर्छ तब उसको हृदयमा शोक र मोह उदय हुनु अनिवार्य छ । तर,
उसले सम्पूर्ण प्राणीमा एक अखण्ड सत्ताको अनुभव गरी प्राणीमात्रलाई प्रभुको छोरो सम्झेर उसँग आत्मभावले प्रीति गर्न थाल्यो भने उसको हृदयमा शोक र मोहको नामनिसान रहँदैन । ऊ सधैं प्रसन्नचित्त रहन्छ । संसारमा उसको कोही शत्रु र मित्र रहँदैन । उसलाई कसैले क्लेश दिने छैन । उसका सामु विषालु सर्प पनि आफ्नो दुष्ट स्वभाव भुल्ने छ ।
♦ यदि तिमी सर्वाङ्गपूर्ण जीवनको आनन्द लिन चाहन्छौ भने भोलिको चिन्ता छाडिदेऊ । आफ्नो चारैतिर जीवनको बिउ रोप । भविष्यका सुनौला सपना साकार हुँदै गएको हेर्ने बानी पार । सधैंका लागि मनमा यो कुरा पक्का गरेर बसाऊ, तिम्रो भोलि अत्यन्त प्रकाशमय, आनन्दमय र रमाइलो हुने छ । भोलि तिमी आफूलाई आजभन्दा पनि बढी भाग्यशाली पाउने छौ । तिम्रो मन सिर्जनात्मक शक्तिले परिपूर्ण हुने छ । जीवन ऐश्वर्यपूर्ण हुने छ । तिमीमा यति शक्ति छ जसदेखि विघ्नहरू तिमीसित डराएर भाग्ने छन् । यस्ता विचारधाराबाट निश्चित रूपमा कल्याण हुने छ । तिम्रा संशयहरू मेटिने छन् । पूर्ण स्वास्थ्य प्राप्त गर्न सकिन्छ
स्रोतः जीवन रसायन
0 Comments