यस Vyavaharaka kehi ratnaharu लेखमा केही मिठो व्यबहारका उदाहरणहरू दिएर हामीले पनि कसैसित व्यवहार सोही अनुसार गर्नुपर्छ भन्ने सिक छ।
Vyavaharaka kehi ratnaharu | व्यवहारका केही रत्नहरू
शतक्रतु इन्द्रले देवगुरु बृहस्पतिसँग सोधे : ‘‘हे ब्रह्मण ! त्यो कुन वस्तु हो जसको राम्रो किसिमले आचरण गर्ने मानिस सम्पूर्ण प्राणीहरूको प्यारो भएर महान् यश प्राप्त गर्छ ?’’ बृहस्पतिले भने : ‘‘इन्द्र ! त्यो वस्तु हो, सान्त्वना, मिठो बोली, विनयी व्यवहार । यिनको राम्ररी आचरण गर्ने व्यक्ति सम्पूर्ण प्राणीहरूको प्यारो भएर महान् यश प्राप्त गर्छ । यो एउटै वस्तु सारा संसारका लागि सुखदायक छ ।’’
महामना पण्डित मदनमोहन मालवीयजीसँग कुनै विद्वानले भने : ‘‘हजुरले मलाई सय गाली गरेर हेर्नुस्, मलाई रिस उठ्ने छैन ।’’ महामनाले जुन उत्तर दिनुभयो त्यसले उहाँको महत्तालाई प्रकट गर्छ ।
उहाँले भन्नुभयो : ‘‘तपाइँको क्रोधको परीक्षा त पछि होला, तर मेरो मुख त पहिल्यै फोहर हुनजान्छ ।’’
यो लेख पनि पढ्नुहोस्ः गर्भधारण र सम्भोगकाल
भगवान् श्रीरामले आफ्ना व्यवहारमा, कुराकानीमा अवसरोचित सम्भाषण नै होस् यस कुराको निकै ध्यान राख्नुहुन्थ्यो । उहाँ विरुद्धभाषी कहिल्यै पनि रहनु भएन । त्यसैले उहाँद्वारा कसैको मुटु दुखाउने प्रसङ्ग आउँदैनथ्यो । उहाँले अवसरोचित कुरालाई पनि युक्तिप्रयुक्तिद्वारा प्रतिपादित गर्नुहुन्थ्यो । त्यसैले उहाँका कुराको कसैले पनि विरोध गर्दैनथ्यो, अनि उहाँको कुराले कसैको हानि पनि हुँदैनथ्यो । कुरा गर्दा अरूलाई मान दिनु, आफैं अमानी रहनु सफलताको साँचो हो ।
यमराज रिसाहा व्यक्तिका यज्ञ, दान, तप, हवनादि कर्मको फल हरण गर्छन् । रिसाहा व्यक्तिको सम्पूर्ण परिश्रम व्यर्थ हुन्छ ।
जो व्यक्ति खानामा संयम, कामविकारमा संयम र हातबाट पवित्र तथा परोपकारको कार्य र मिठो बोली बोल्दछ त्यो नै वास्तविक धर्मज्ञ हो । समुद्र पार गर्ने साधन जहाज भए झैं सत्य ऊर्ध्वलोक उक्लिने सिँढी हो ।
तपाइँ जोसँग कुरा गर्नुहुन्छ त्यो कुनै मेसिन होइन, रोबोट होइन, फलामको पुतला होइन मानिस हो । उसको पनि हृदय छ । प्रत्येक हृदयलाई स्नेह, सहानुभूति, प्रेम र आदरको आवश्यकता हुन्छ । त्यसैले आफूभन्दा ठुलो व्यक्तिसँग विनम्र व्यवहार, समान उमेरका व्यक्तिसँग प्रेम र सानोप्रति दया तथा सहानुभूतिले भरिएको व्यवहार गर्नुपर्छ ।
हृदयमा विशुद्ध प्रेम जगाऊ । त्यसलाई बढाऊ । सबैतिर त्यसको प्रवाह बहन देऊ । यसबाट तिमीलाई अलौकिक सुखशान्ति मिल्ने छ र तिम्रा निमित्तले संसारमा पनि सुखशान्तिको प्रवाह हुन थाल्ने छ । अन्धो मान्छे त्यो होइन जसले आखाँ देख्दैन, अन्धो मानिस त्यो हो जसले आफ्ना दोषहरूलाई ढाँक्छ । दोष ढाँक्न सकिंदैन, सद्गुणहरूको विकासद्वारा त्यसलाई कम गर्न सकिन्छ ।
0 Comments